Friday, October 16, 2020

एक सुके मन 💓



विजयादशमी २०७७ (२०२०) को सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु | यो कबितामा, यौटा सानो केटोले दशैको बेलामा दक्षिणा नपाउदाको दुख र दशैको महत्व के कति बुझ्यो, बुझेन, मनको कुरो समेट्न कोसिस गरिएको छ।  

यस्पाली त खोइ आयेन? 
तर जब आउथ्यो दशै, पिर पर्थ्यो
निधार भरी अटाइ नअटाइ टीका लगाइ दिन्थे 
भुइमा लम्पसार परेर
खुट्टामा ढोग्न लगाउथे
बाजे, बजै, बा आमा, काका काकी, दिदिबहिनी  
एक पछि अर्को, सबैले आशिर्वाद दिन्थे!

सबैले धेरै पढीलेखेर, ठूलो मान्छे भइस भन्थे
सुन्दा सुन्दा, हैन नपढने मान्छे त सधै सानै हुन्छ कि क्या हो?  झै लाग्थ्यो।

सबैले ज्ञानी भइस भन्थे
हैन म साच्चैको बदमाश पो छु कि क्या हो? झै लाग्थ्यो।

भनेको मान्ने भइस भन्थे....
त्यसैले होला अहिले चै म श्रीमतीले भनेको जे... पनि मान्ने भाको छु।

तर दशैमा सबैभन्दा महत्वपुर्ण कुरो 
सबैले भुसुक्कै बिर्सन्थे!!!
छोरोलाइ दशैको दक्षिणा खोइ? 
दशैमा छोरोको आम्दानी खोइ? 

त्यो दिन त दिदी बहिनीहरुको
चालामाला बेग्लै हुन्थ्यो
फुर्सद नै कहाँ पाउथे?
मान्छे हो कि रास्ट्र बैक हो
छुट्याउनै गार्हो हुन्थ्यो
छापेको छापै गर्थे
खल्ती मै छापाखाना राखेछन कि क्या हो झै लाग्थ्यो।

सकि नसकी
हातैमा नअटने कडा, नया बास्ना आउने नोटहरु गन्थे
सबैको ढोगाइ खादा खादा
कहिले काहीँ लक्षमी माताको हातबाट झै पैसा खसाल्थे
हामीलाइ भने त गैडा हाती
दुइ तीन बर्ष अघि सौराहामा देख्या मात्रै याद हुन्थ्यो।

कसैले एक सुको दिदा
हामीलाइ गिज्याये झै भान हुन्थ्यो
वरिपरि बस्ने दिदिबहिनीहरु 
कतै हासेको पो छन कि कुन्नि भन्ने लाग्थ्यो।

रुपैयाको के कुरा गर्नु?
कहाँ, कस्ले कुन घरमा कत्ती पैसा दिन्छ, दिन्न?
हिसाबमा फेल हुने छोरोलाई नी सबै याद हुन्थ्यो।

दिदिबहिनीको खुतुर्केमा अटाइ नअटाइ हुन्थ्यो
हाम्रो खुत्रुकेमा एक मोहोर खसाल्दा
त्यहाँ एक्लै बसी राखेको टुहुरो एक सुको झसङ्गै हुन्थ्यो
" तेरिमा मोहोर! अलि बिस्तारै झर्न सक्दैन!" 
भनेर झर्किन्थ्यो, बिचरो एक सुको। 

हाम्रो दुख कस्ले बुझुन?
आस्वासन कसैले दिदैन थियो
मामाघरमा दुई चार रुपैयाँ पाउँदा चाहिँ
स्कुलको वाद बिबाद प्रतियोगितामा
सान्त्वना पुरुस्कार जितेर घर आये झै लाग्दथ्यो
जितेको हो कि हारेको हो? 
बुझ्न एक छिन गार्हो पर्थ्यो
हास्ने हो कि रुने हो 
अड्कल नै हुन्न थियो।

बल्लबल्ल अलिकति भाको त्यो कमाइ पनि
घरमा दिदिबहिनीलाइ टीका लगाइ 
जबर्जस्ती दक्षिणा दिनु पर्दा
हाम्रो खुशी एकदमै छोटो हुन्थ्यो।

घाटा त खानु नै थियो
अझै दुई खुट्टामा रामरी ढोग्नै पर्थ्यो।

अरु के गर्नु?
एक गिलास दहि खायेर 
भगवानलाइ आकाश तिर हेरेर  
मनमनै, ठूलो स्वरले तर बिनम्र भयेर 
सबै छोरोले दुख पोख्थ्यो।

हे दुर्गा माता!
बाले दुख गरि यो घरको जग बसाको
आमाले हावाहुरीबाट यो घर सम्हालेको
दिदी बहिनी पनि आमा सरि 
माया गर्ने मुटु भरी, सबै सधै सग्गालेको
तर यस्तो किन अत्याचार!
हामीलाई नी छोरी भयेर किन तिमीले नजन्माको?

माताले हास्दै भन्नू भाको
" हे बालक! 
हाम्रो समाज, सस्कृती, धर्म, आस्था र प्रथालाई 
तिमीले नै हो जोगाउने!
यो दशै तिमीलाइ सबैको माया बटुल्न बनाको
अनि
दिदिबहिनीहरुको सम्मान गर्न पनि सिकाको!"

हो दुर्गा भवानी! 
घर छोडी हिडेको धेरै भो
यस्पालीको दशै त झन यस्तै भो
कोरोनाको सम्हार कहिले गर्नु हुने हो?

अर्को पालीको दशैमा चै जन्मघर जाउला
नया सर्ट पाइट सिलायेरै लगाम्ला
चङ्गा उडाम्ला
सेल रोटी काक्रोको अचार सङ्ग खाम्ला
लङ्गरगुर्जा, च च हुईई सरर... पिङ्ग पनि खेलम्ला
आफू हुर्के खेलेको आँगन
हिडेको बाटो
बसेको चौतारी फेरि एक पल्ट पुगम्ला 
बाजे, बजैलाई सम्झिम्ला
मामाले कत्ती पैसा दिनु हुन्छ, हेरुम्ला।

बा, आमा, दिदीबहिनी सबैलाइ नढोगेको धेरै भो
सबैको आशीर्वाद निधार भरी थापुम्ला।
दशैमा पाएको यहि असली दक्षिणाले 
यो एक सुके मनको खुत्रुके भरेर  
यो जीवन कथा सजौला। 
 

धन्यवाद ।
----=---------=------=-------=-----
युट्युब भिडियो: दशै झल्काउने केही राम्रो फोटोहरु ईन्टरनेटबाट लिइयेको छ। यो कुनै कमर्सियल भिडियो हैन र मात्र दशैको रमाइलो क्षणहरु शेयर गर्ने सानो कोसिस हो र आशा छ यस कबिताको भावना यहाँहरुलाइ मन पर्ने छ। धन्यवाद।

No comments :